Public Health Information, Research & Vacancies in Nepal

 

बढ्दो नसर्ने रोग र अस्वस्थ जीवनशैली: नेपालको मौन स्वास्थ्य संकट



नेपालले विगत केही दशकमा संक्रामक रोग नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य सुधार, र औसत आयु वृद्धिजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। तर, यी उपलब्धिहरूका बीचमा अर्को ठूलो चुनौती तीव्र गतिमा बढिरहेको छ।नसर्ने रोग (Non-Communicable Diseases, NCDs) उच्च रक्तचाप, मधुमेह, मुटु रोग, क्यान्सर, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग तथा मिर्गौलाका दीर्घरोगले आज नेपाली समाजमा गम्भीर स्वास्थ्य, सामाजिक र आर्थिक असर पारिरहेका छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नेपालमा हुने करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेका छन्, जसले यी रोगहरूलाई देशको प्रमुख स्वास्थ्य चुनौतीका रूपमा स्थापित गरेको छ।

किन बढिरहेका छन् नसर्ने रोगहरु ?

नसर्ने रोग एक्कासि उत्पन्न हुने समस्या होइन। यी रोगहरू वर्षौंसम्म अस्वस्थ जीवनशैली, खराब खानपान र जोखिमपूर्ण व्यवहारका कारण विस्तारै विकसित हुन्छन्।

आजको नेपाली समाजमा शारीरिक श्रम घट्दै गएको छ। कार्यालयमा लामो समय बस्ने, सवारी साधनमा अत्यधिक निर्भरता, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग तथा नियमित व्यायामको कमीले शारीरिक निष्क्रियता बढाएको छ। यससँगै बजारमा सजिलै उपलब्ध हुने जंक फुड, अत्यधिक नुन, चिनी र चिल्लो पदार्थयुक्त प्रशोधित खाद्य पदार्थको बढ्दो प्रयोगले मोटोपना, मधुमेह र उच्च रक्तचापको जोखिम बढाइरहेको छ।

त्यसैगरी, धूमपान, सुर्तीजन्य पदार्थको प्रयोग, मदिराको अत्यधिक सेवन, मानसिक तनाव, अपर्याप्त निद्रा तथा वायु प्रदूषणले पनि नसर्ने रोगको जोखिमलाई थप बढाइरहेका छन्।

युवाहरू पनि सुरक्षित छैनन् त किन ?

पहिले नसर्ने रोगलाई वृद्धावस्थाको समस्या मानिन्थ्यो। तर अहिले ३०–४० वर्ष उमेर समूहका व्यक्तिहरूमा पनि उच्च रक्तचाप, मधुमेह र मुटु रोग बढ्दो क्रममा देखिन थालेका छन्। यसको प्रमुख कारण बाल्यकालदेखि नै अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी र बढ्दो मानसिक तनाव हो।

विद्यालय जाने बालबालिकामा समेत चिनी बढी भएका पेय पदार्थ, प्याकेटका खानेकुरा र फास्टफुडको अत्यधिक प्रयोगले भविष्यमा नसर्ने रोगको जोखिम बढाइरहेको छ।

घरपरिवार तथा समाजमा पर्ने असर

नसर्ने रोगले बिरामीलाई मात्र होइन, सम्पूर्ण परिवारलाई असर गर्छ। दीर्घकालीन औषधि, नियमित परीक्षण, अस्पताल उपचार तथा कार्यक्षमता घट्दा परिवारको आर्थिक अवस्था कमजोर हुन सक्छ। धेरै परिवारले उपचारकै लागि ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ।

राष्ट्रिय स्तरमा पनि नसर्ने रोगका कारण स्वास्थ्य खर्च बढ्ने, उत्पादनशील जनशक्ति घट्ने तथा आर्थिक विकासमा नकारात्मक प्रभाव पर्ने गर्दछ। त्यसैले नसर्ने रोग केवल स्वास्थ्यको विषय मात्र होइन, सामाजिक र आर्थिक विकाससँग पनि प्रत्यक्ष सम्बन्धित विषय हो।

रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय

सकारात्मक पक्ष के हो भने अधिकांश नसर्ने रोगहरू जीवनशैलीमा साना परिवर्तन गरेर धेरै हदसम्म रोकथाम गर्न सकिन्छ।

स्वस्थ जीवनका लागि निम्न बानीहरू अपनाउनु आवश्यक छः

  • दैनिक कम्तीमा ३० मिनेट शारीरिक गतिविधि वा व्यायाम गर्ने।
  • फलफूल, हरियो सागसब्जी तथा सन्तुलित आहारको सेवन गर्ने।
  • नुन, चिनी र चिल्लो (बोसोयुक्पत) पदार्थको  मात्रा कम गर्ने।
  • धूमपान, सुर्तीजन्य पदार्थ तथा मदिराबाट टाढा रहने।
  • पर्याप्त निद्रा लिने र मानसिक तनाव व्यवस्थापन गर्ने।
  • नियमित रूपमा रक्तचाप, रगतमा चिनी तथा तौल परीक्षण गराउने।

यी सामान्य अभ्यासहरूले भविष्यमा हुने धेरै गम्भीर रोगहरूबाट बच्न मद्दत पुर्‍याउँछन्।

स्थानिय सरकार  र समुदायको भूमिका

नसर्ने रोग नियन्त्रणका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन। सरकारले स्वस्थ वातावरण निर्माण गर्न, विद्यालयमा स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन, सुर्ती र मदिरा नियन्त्रण नीति कडाइका साथ लागू गर्न, स्वस्थ खाद्य पदार्थको प्रवर्द्धन गर्न तथा प्राथमिक स्वास्थ्य सेवामार्फत नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।

स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, सञ्चार माध्यम र समुदायले संयुक्त रूपमा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेमा मात्र नसर्ने रोगको बढ्दो भार कम गर्न सकिन्छ। नेपालले यस दिशामा बहुक्षेत्रीय कार्ययोजना लागू गरिरहेको भए पनि प्रभावकारी कार्यान्वयन अझै आवश्यक छ।

निष्कर्ष

नेपाल अहिले स्वास्थ्य संक्रमणको नयाँ चरणमा छ। संक्रामक रोगसँगै नसर्ने रोग पनि प्रमुख चुनौती बनेका छन्। यदि अहिलेबाटै स्वस्थ जीवनशैली अपनाउने, समयमै स्वास्थ्य परीक्षण गर्ने र समुदायस्तरमा स्वास्थ्य चेतना बढाउने कार्यलाई प्राथमिकता दिइएन भने भविष्यमा नसर्ने रोगले अझ ठूलो सामाजिक र आर्थिक संकट निम्त्याउन सक्छ।

स्वास्थ्य भनेको रोग लागेपछि उपचार गर्नु मात्र होइन; रोग लाग्नै नदिनु सबैभन्दा ठूलो उपलब्धि हो। त्यसैले आजबाटै स्वस्थ जीवनशैली अपनाऔँ, नियमित स्वास्थ्य परीक्षण गराऔँ र स्वस्थ नेपाल निर्माणमा सबैले आफ्नो भूमिका निर्वाह गरौँ।

लेखक परिचय
नवराज चापागाईं जनस्वास्थ्यका विद्यार्थी हुन्। 

0 comments:

Post a Comment